समाचार
टनेलको तरकारीले गाउँ आत्मनिर्भर
गाउँबाट दैनिकजसो तरकारी पोखरा, स्याङ्जा र कुश्मा जान्छ । महाशिलाका काउले, लुङ्खु, पाखापानीलगायत सबै वडाका दुई सयभन्दा बढी किसान व्यावसायिक तरकारी उत्पादनमा जमेका छन् ।
पर्वत — महाशिला गाउँपालिकाले घरघरै टनेलको कार्यक्रम ल्याउँदा धेरैले पत्याएनन् । गाउँ कार्यपालिकाले निर्णय गरेर पहिलो आर्थिक वर्षबाट सुरु गरेको एक घर एक टनेल अहिले घरघरै फैलिएको मात्रै छैन । किसान आत्मनिर्भरसमेत भएका छन् ।
अहिले गाउँबाट दैनिकजसो तरकारी पोखरा, स्याङ्जा र कुश्मा जान्छ । महाशिलाका काउले, लुङ्खु, पाखापानीलगायत सबै वडाका दुई सयभन्दा बढी किसान व्यावसायिक तरकारी उत्पादनमा जमेका छन् । पहिलो वर्ष परीक्षणका रूपमा ४ सय टनेल वितरण गरेको गाउँपालिकाले कार्यक्रम सफल भएपछि अघिल्लो आर्थिक वर्षमा ८ सय वितरण गरेको थियो ।
गाउँपालिकाका अनुसार चालु वर्ष थप ८ सय टनेल वितरणको कार्यक्रम छ । गाउँपालिकामा करिब २७ सय घरधुरी छन् । हरेक घरधुरीमा एकैसाथ कार्यक्रम लैजान सम्भव नभएपछि चरणबद्ध र व्यावसायिक सीपपछि मात्रै टनेल वितरण गरिएको अध्यक्षराजुप्रसाद पौडेलले बताए ।
आर्थिक वर्ष ०७५/०७६ को बजेट मार्फत गाउँपालिकाका ८ सय घरधुरीमा व्यावसायिक तरकारी खेती कार्यक्रम विस्तार गरिएको थियो । ‘सबैलाई एकै वर्ष समेट्न सकिएन,’ अध्यक्ष पौडेलले भने, ‘इच्छुक किसानलाई प्राथमिकतामा राखेर बाँडियो । अहिले नयाँ किसानलाई वितरण गर्दै छौं ।’ छिमेकिको देखासिकी गरेर तरकारी खेतीमा लाग्न जागरुक किसानलाई यो वर्ष प्राथमिकतामा राखेर टनेल वितरणगर्न लागिएको उनले बताए ।
गाउँपालिकाले यो वर्ष टनेलसहित व्यावसायिक तरकारी उत्पादनका लागि २० लाख बजेट विनियोजन गरेको छ । ‘हामीले गाउँलेलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौं,’ गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैठकुरीले भने, ‘घरघरै प्राविधिक पठाइनेछ ।’ गाउँपालिकाले महाशिला स्वयंसेवक कार्यक्रम मार्फत २० प्राविधिक उत्पादन गरेको छ ।
टनेलमा व्यावसायिक खेती विस्तारका लागि महाशिला विकास स्वयंसेवकलाई प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट ६० दिनको तालिम दिएर घरघरै प्रविधि सिकाउन पठाइएको उनले बताए । स्थानीय महेन्द्रज्योति माध्यमिक विद्यालयमा तालिम दिएर व्यावसायिक फार्ममा २० प्राविधिक पठाइएको छ ।
वडामा २ जनाका दरले ६ वडामा १२ र बाँकी प्राविधिक व्यावसायिक खेती धेरै हुने गाउँमा प्रविधि सिकाउने गरी खटाइएको हो । गाउँपालिकाभरका बासिन्दालाई आत्मनिर्भर बनाई आम्दानी बढाउने उद्देश्यमध्येको मुख्य कार्यक्रमका रूपमा यो योजना अघि सारिएको हो ।
कार्यक्रम मार्फत उत्साहित किसानले बेमौसममा बन्दा, रायो, काउली, गोलभेंडालगायतका तरकारी उत्पादन गर्छन् । ‘अहिले गोलभेंडा घरबाटै सय रुपैयाँमा बिकेको छ,’ काउलेकी गुमाकुमारी शर्माले भनिन्, ‘परिश्रम गरेअनुसार आम्दानी भएको छ ।’ व्यावसायिक तरकारी खेतीमा लागेका काउलेका करिब ५० परिवारले यतिबेला टनेलभित्र गोलभेंडा, बन्दा, काउली र सिमी फलाएका छन् ।
गाउँपालिकाले एकै प्रकारको तरकारी उत्पादन गर्दा बजार पाउन समस्या हुने भएकाले किसानको समूह गठन गरेर बालीमा चक्रिय प्रणाली अपनाउन सुझाएको छ । १० किसानको समूह बनाएर टनेलमा समान जातको तरकारी लगाउने गर्छन् । अर्को समूहमा फरक जातको तरकारी लगाउने संस्कारको विकास भइसकेको छ ।
काउलेका ५० परिवारले छुट्टाछुट्टै ५ प्रकारका तरकारी फलाएका छन् । बढी भएको बाहिरी बजारमा पठाउने गरिएको अगुवा किसान प्रकाश पौडेलले बताए ।
टनेलभित्रको तरकारीका लागि किसानले थोपा सिँचाइ प्रयोग गर्न थालेका छन् । भान्सा र सरसफाइमा प्रयोग गर्ने पानी संकलन गरेर तरकारीमा सिञ्चित हुने व्यवस्था मिलाएको किसान चिन्तामणि पौडेलले बताए ।